सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न यातायात व्यवस्था विभागले कडाइ गरेको छ ।
विभागले हालै यातायात व्यवसायी तथा सम्बन्धित निकायहरूलाई परिपत्र जारी गर्दै उक्त सहुलियत पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । साथै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई विद्यार्थीहरूको कानुनी अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ ।
इन्धन मूल्यवृद्धिपछि केही सार्वजनिक सवारीले विद्यार्थीलाई तोकिएको छुट नदिएको गुनासो बढ्दै गएको विभागले जनाएको छ । ‘हेलो सरकार’ तथा गुनासो पेटिकामार्फत ४५ प्रतिशत छुट नपाएको भन्दै विद्यार्थीबाट उजुरीहरू आउने क्रम बढेको छ ।
यस्तै, परिचयपत्र देखाउँदा समेत चालक तथा सहचालकले छुट दिन नमानेको र दुर्व्यवहार गरेको गुनासो आएपछि विभागले पुनः ध्यानाकर्षण गराएको हो ।
विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिने व्यवस्था अझै कायम रहेको छ ।
विभागले परिचयपत्र भएका विद्यार्थीलाई छुट नदिने सवारीसाधनमाथि आवश्यक कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ ।
Photo Credit :- AI
