नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले रोड टु युएफसी सिजन ५ मा शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएका छन्। बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनल भिडन्तमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै पराजित गरे।
रविन्द्रको समर्थनमा हजारौं नेपाली समर्थकहरू एरेनामा पुगेका थिए। ‘बझाङको बाघ’ भनेर परिचित रविन्द्र रोड टु युएफसीमा जित निकाल्ने पहिलो नेपाली फाइटरसमेत बनेका छन्।
अब उनले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
यसअघि रविन्द्रले म्याट्टी इयानसँग खेल्ने तालिका थियो। तर इयान घाइते भएपछि उनको स्थानमा किम्बर्ट अलिन्टोजोनलाई प्रतिस्पर्धामा उतारिएको थियो।
ब्यान्टमवेट विधामा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यदि यो प्रतियोगिता जितेमा युएफसीको मुख्य स्टेजमा स्थान बनाउनेछन्।
पछिल्लो समय नेपाली एमएमएमा रविन्द्र सबैभन्दा चर्चित फाइटरमध्ये एक मानिन्छन्। उनले गत वर्ष भारतको ग्रेटर नोइडामा आयोजित मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए।
