अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरेन्द्र बहुमुखी क्याम्पसमा वृक्षरोपणअन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरेन्द्र बहुमुखी क्याम्पसमा वृक्षरोपण

भरतपुर । अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
“भिन्न परिवेश, साझा आकाङ्क्षा” भन्ने नाराका साथ वीरेन्द्र बहुमुखी क्याम्पसको नौबिहा परिसरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम युवा रेडक्रस सर्कल वीरेन्द्रका अध्यक्ष विनय आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्याम्पसका सहायक क्याम्पस प्रमुख किशोर चन्द्र घिमिरे सहभागी थिए।
त्यस्तै, विशिष्ट अतिथिका रूपमा विद्यार्थी कल्याण प्रमुख तथा रेडक्रस शिक्षक नायक देवी प्रसाद पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरू, वीरेन्द्र खेलकुद समितिका अध्यक्ष सुदर्शन श्रेष्ठ, एकेडेमी सर्कल वीरेन्द्रका सचिव दर्शन भण्डारी, नेपाल विद्यार्थी संघ एकाइ समिति वीरेन्द्रका सभापति ज्ञान प्रसाद पराजुली, अनेरास्ववियु क्याम्पस कमिटी वीरेन्द्रका संयोजक अरविन्द ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष दुर्गा सापकोटा तथा निवर्तमान युवा रेडक्रस सर्कल अध्यक्ष आयुष पौडेल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष विनय आचार्यले वृक्षरोपण गर्नु मात्र पर्याप्त नभई रोपिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी पनि सबैको भएको बताए।
“हालसम्म कति बिरुवा रोपिए, कति हुर्किए र कति मरे भन्ने कुराको समीक्षा गर्न आवश्यक छ। यो प्राङ्गण बोटबिरुवाको चिहान नबनोस् भन्नेमा हामी सचेत छौँ। रोप्ने, संरक्षण गर्ने र हुर्काउने हाम्रो जिम्मेवारी हो,” अध्यक्ष आचार्यले बताए।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। रोपिएका बिरुवाको नियमित संरक्षण तथा हेरचाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।
युवा रेडक्रस सर्कलले सामाजिक सेवा, वातावरण संरक्षण तथा विद्यार्थीको नेतृत्व विकाससँग सम्बन्धित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *